हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर १३
|
204 views

ललितपुर -
बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ ।

पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उहाँले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आउनुभएको छ ।

पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उहाँका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि हुनुहुन्छ । फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुनुहुन्छ ।

प्रहरी स्रोतका अनुसार गुप्तचर टोलीले राजधानीका मिरपुर डीओएचएस र राकिन सिटीमा आइतबार बिहान एकैसाथ छापा मारेको थियो । फरार श्रीमान्को निर्देशनमा फारजानाले हिंसा तथा तोडफोडको योजना बनाउन भूमिका खेलेको प्रहरीको आरोप छ ।

कारबाहीका क्रममा एक सालाकी पत्नीलाई पनि केही समय नियन्त्रणमा लिइएको थियो । तर स्तनपान गराइरहेको शिशु भएकाले उहाँलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी फारजानालाई सन् २०२४ सेप्टेम्बर ८ मा विशेष जिम्मेवारीमा राखिएको थियो । उहाँका श्रीमान् इस्लामलाई भने सोही वर्षको जुलाईमा भएको जनविद्रोहपछि अनिवार्य अवकाश दिइएको थियो । त्यसयता उहाँ फरार रहँदै आउनुभएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube