ललितपुर – महाकाली नगरपालिका–४, दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना अझै फरार छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार, र सुरेन्द्र बम रहेका छन् ।
घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । ती फरार व्यक्तिहरू हुन्: अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल ।
प्रारम्भिक अनुसन्धानअनुसार, अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान् आशिकले हवल्दार घर्तीमाथि कुटपिट गरी हत्या गरेको संदेह गरिएको छ ।
पक्राउ परेकाहरूले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान दिएका भए पनि परीक्षण र अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियारले चोट पुगेको पाइएको छ। फरार व्यक्तिहरूको खोजी र घटनाबारे थप अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जारी राखेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया