हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिँदै, दुई उद्योगबाट उत्पादन सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
969 views

ललितपुर - ललितपुर – मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग स्थापना र सञ्चालनको क्रम तीव्र बन्दै गएको छ। यही क्रममा पछिल्लोपटक थप दुई उद्योग सञ्चालनमा आएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालि ले पुराना इलेक्ट्रोनिक्स सामग्री प्रशोधन गरी नयाँ धातु उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको छ । यस्ता प्रकृतिको उद्योग सम्भवतः नेपालमै पहिलोपटक सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, राधाकृष्ण सेनथेटिक प्रालि ले गत कात्तिक महिनादेखि पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन सुरु गरिसकेको छ ।

लामो समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रुअरी नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनमा आउने तयारीमा रहेको छ भने त्रिपुरा इन्डस्ट्रिज ले नयाँ रूपमा टोबाको उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको कार्यालयले जनाएको छ ।

यता, लगानी अभावका कारण पछिल्लो केही महिनादेखि रोटो प्रिन्टिङ उद्योग (प्लाष्टिकमा प्रिन्ट गर्ने) र नोबोल प्याकेजिङ ले उत्पादन बन्द गरेका छन्। हाल औद्योगिक क्षेत्रमा विभिन्न प्रकृतिका १३ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्, जसमध्ये अधिकांश अन्तिम चरणमा पुगेका छन् ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको उक्त औद्योगिक क्षेत्रमा हाल १४७ उद्योग तथा प्रतिष्ठानहरूले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। कुल तीन हजार २२८ रोपनी क्षेत्रफल मा फैलिएको क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग र कार्टुन उद्योग प्रमुख रूपमा सञ्चालनमा छन् ।

यसैगरी, औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायत कार्यालय तथा संस्थाहरू पनि सञ्चालनमा रहेका छन् ।

कुल क्षेत्रफलमध्ये दुई हजार १७८ रोपनी जमिन भाडामा दिइएको छ भने २६.५२ रोपनी खाली रहेको छ । युटिलिटी सेवा, सडक सञ्जाल, विद्युतीकरण र ढल निकासलगायत संरचनाले ५९७ रोपनी क्षेत्र ओगटेको छ । औद्योगिक क्षेत्रमा कार्यालयद्वारा निर्मित १० औद्योगिक भवन, ११ गोदाम र ३४ अन्य भवन रहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube