कविता -डर लाग्छ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
2.1k views

ललितपुर -  हिमाेढ पहाडी 

               

    खै के, खै के

    कत्ति पचिरहेको थिएन मलाई 

    आङ जिरिङ्ग हुँदै थियो

    दिमाग रित्तिएको थियो

    मेरो मस्तिष्कमा 

    घनले ठोके झैँ भएको थियो

    जब मोबाइलको स्क्रिनमा

    देशको झण्डा ओढेर

    पुर्खाको धरोहर सिंहदरबार 

    आस्थाको प्रतीक सर्वोच्च अदालत

    देश काँधमा बोक्नेहरूले

    ध्रुवे हात्ती जस्तै उन्मत्त बनेर जलाउँदै थिए ।

    जब एक दिन

    संविधानविद् भीमार्जुन दाइलाई 

    पढ्दै थिएँ घोत्लिएर

    कसरी दुरुपयोग हुँदै छ राष्ट्रिय झण्डाकाे प्रयोग पढेँ

      नि:शब्द बनेको थिएँ त्यो क्षण ।

      मैले विगत चियाउने प्रयत्न गरेँ

       जब सिउल ओलम्पिकमा 

      विधान लामाले राष्ट्रिय झण्डा ओढेर

      काश्य पदक थाप्दै गरेको दृश्य सम्झेँ

      साम्बा र प्रीति राईहरू 

      त्यही झण्डा ओढेर

      विश्वरंग मञ्चमा अहिले पनि

      देश चिनाउँँदैछन् ।

      घरी सम्झिन्छु झण्डा ओढेर

      देश जलाउने जवानहरू

      घरी सम्झिन्छु

      झण्डा ओढेर देश चिनाउनेहरू

      त्यसैले म बिचारहरूको मझधारमा 

      शून्य बनेर उभिएको छु

      साँच्चै भनूँ महोदय

      मलाई हाम्रो स्वाभिमानको प्रतीक

      राष्ट्रिय झण्डा देखेर डर लाग्छ अचेल ।

      दाङ

      हाल: पोर्चुगल

       पात्रो/राशिफल  रेडियो YouTube