बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ११
|
459 views

ललितपुर - रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् ।

बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube