ललितपुर - ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही मतदान केन्द्रको अनुगमन हुन सकेको छैन। यहाँ फरक समयमा भएको हिमपातले मतदान केन्द्रको अनुगमनमा समस्या आएको हो । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार, विशेष गरी नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रमा अनुगमन गर्न सकिएको छैन ।
उहाँले बताउनुभयो, ‘भौगोलिक अवस्था र चिसोका कारण अनुगमन प्रभावित भएको छ । समस्याका बीच मनाङ ङिस्याङ गाउँपालिकाका नौवटै मतदान केन्द्रको अनुगमन गरिएको छ । चामे र नासोँ गाउँपालिकाका केन्द्रको अनुगमन भए पनि नार्पाभूमिका केन्द्रमा पुग्न सकेको छैन ।‘
मनाङ सदरमुकाम चामेबाट नार्पाभूमि पुग्न हिँडेर दुई दिन लाग्ने भएकोले यहाँ आउजाउमा समस्या आएको छ । नार्पाभूमि गाउँपालिकामा वडा नं १–३ मा तीन, वडा नं ४–५ मा दुई गरी पाँच मतदान केन्द्र छन् ।
यसलाई ध्यानमा राखी, अस्थायी रूपमा मतदान केन्द्र सदरमुकाम सार्ने विषयमा स्थानीय पालिकासँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । नार्पाभूमि गाउँपालिकामा ४८८ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार पाँच वटै वडामा मतदान केन्द्र कायम गरिएको छ र मौसम अनुकूल नभएमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
मनाङ जिल्लामा महिला ३,६२३ र पुरुष ३,३७७ गरी ७,००० मतदाता छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६,७७९ मतदाता रहेका थिए, यस पटक २२१ मतदाता थपिएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र भएको मनाङमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका यशोदा सुवेदी गुरुङ, र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

बिजनेस पाटी