एचपिभी खोपबाट ७ हजार ८९७ किशोरी सुरक्षित

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
357 views

ललितपुर - ललितपुर – जिल्ला स्वास्थ्य कार्यालय बाँके का अनुसार बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९२ प्रतिशत किशोरीलाई लगाइएको छ । कूल आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य रहेकामा सात हजार ८९७ किशोरीलाई खोप लगाइएको हो, जुन लक्ष्यको ९२ प्रतिशत हो

जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार खोप लगाउने लक्ष्य पूरा नजिक पुगेको छ । “केही छुट हुन सक्छ, तर एचपिभी खोप लगाउने कार्य सम्पन्न भएको छ,” उहाँले भन्नुभयो ।

पालिकागत तथ्याङ्कअनुसार कोहलपुरमा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, र नरैनापुर गाउँपालिकामा ७३१ जनालाई खोप लगाइएको छ । त्यसैगरी बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०, नेपालगञ्जमा एक हजार ९०९, र डडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ ।

खोपले एचपिभी प्रजाति १६ र १८ बाट हुने सङ्क्रमण रोक्ने भएकाले पाठेघरको मुखको क्यान्सरबाट बचाउन सुरक्षित र प्रभावकारी मानिएको छ । तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

खोप अभियान माघ २५ देखि फागुन ११ सम्म सञ्चालन गरिएको थियो । गत वर्ष जिल्लामा ३३ हजार ७५९ जनालाई खोप लगाइएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube