ललितपुर – धनुषामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग रोकथामका लागि एचपिभी खोप लगाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, जनकपुरसहित धनुषामा १६ हजार ९०० किशोरीले निःशुल्क खोप पाएका छन् ।
यस खोप १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइन्छ । प्रमुख यादवले बताएअनुसार, सरकारले शतप्रतिशत किशोरीलाई खोप दिने लक्ष्य राखेको छ र आगामी आइतबारदेखि कक्षा ६ का किशोरीलाई खोप दिने तयारी भइरहेको छ ।
खोप अभियानका सम्बन्धमा जानकारी दिन विद्यालयका शिक्षकहरूलाई समेत अभिमुखीकरण गरिएको छ । उहाँले उल्लेख गर्नुभयो, नेपालमा वार्षिक २ हजार १६९ महिला पाठेघरको मुखको क्यान्सरको शिकार हुन्छन्। पटक–पटक संक्रमण रहँदा २० वर्षसम्ममा क्यान्सर लाग्ने सम्भावना धेरै हुन्छ ।
सोही कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोकथामका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उहाँले मदरशाका किशोरीलाई समेत खोप लगाउन सचेत गराउनुपर्ने सुझाव दिनुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पनि अभियानलाई महत्व दिँदै, विद्यालय बाहिरका किशोरीसमेत समेटेर शतप्रतिशत खोप अभियान सफल बनाउनुपर्ने जोड दिनुभयो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया