ललितपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले प्रारम्भिक चरणमा पाठेघरको मुखको क्यान्सर पहिचान भए उपचार सम्भव हुने बताउनुभएको छ । आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत उहाँले अभियानको सफलताको शुभकामना दिँदै खोप सुरक्षित भएकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गर्नुभएको छ ।
मन्त्री गौतमले सबै ३० वर्षमाथिका महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन समेत आग्रह गर्नुभएको छ । उहाँका अनुसार, पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो र उक्त भाइरसविरुद्धको खोपले रोग रोकथाम गर्न सकिन्छ ।
सरकारले आजदेखि फागुन १५ सम्म देशव्यापी रूपमा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालेको छ । साथै, गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७–१० सम्मका किशोरी र ११–१४ वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि खोप दिइने व्यवस्था गरिएको छ ।
मन्त्री गौतमले खोप महिलाको जीवन रक्षा गर्ने भएकाले सबैले लगाउनुपर्ने र अभिभावकहरूले आफ्ना बालिकालाई खोप लगाउन प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा हरेक दिन औसत छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको तथ्य पनि उहाँले साझा गर्नुभयो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया