ललितपुर – जिल्लाका ६,७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर रोक्ने एचपिभी खोप दिइने भएको छ । ललितपुरका ७२५ विद्यालय र ११४ स्वास्थ्य केन्द्रमार्फत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरे का अनुसार खोपका लागि आवश्यक ७,००० भ्याक्सिन जिल्ला आइपुगेको छ । उहाँले भन्नुभयो, “कक्षा ७ देखि १० सम्मका किशोरी तथा विद्यालय बाहिरका ११–१४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप केन्द्रबाट खोप दिइनेछ।” खोप अभियान माघ २५ देखि फागुन १ सम्म सञ्चालन हुने छ ।
उहाँले थप्नुभयो कि ललितपुरमा बाह्य खोप केन्द्र आवश्यक छैन। जिल्ला स्तरिय खोप समन्वय समितिको बैठकले पनि सबै स्थानीय तहमा वडास्तरमै खोप केन्द्र भएकोले बाह्य केन्द्र आवश्यक नभएको निष्कर्ष निकालेको छ। अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिनेछ ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा. अङ्कित पौडेल ले पाठेघरको क्यान्सरका कारण नेपालमा महिलाहरुको मृत्यु बढ्दै गएको भन्दै खोप अनिवार्य भएको र अभियानको सफलताका लागि सबैको सहभागिता आवश्यक भएको बताएका छन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया