ललितपुर – बीमा सेवा लिँदा कागजातमा हुलाक टिकट टाँस्नुपर्ने झन्झट अब अन्त्य भएको छ । नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन बीमा कम्पनी, बीमा ब्रोकर तथा अन्य मध्यस्थकर्तालाई परिपत्र जारी गर्दै यस्तो पुरानो अभ्यास खारेज गर्न निर्देशन दिएको हो ।
प्राधिकरणका अनुसार मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार, प्रचलित कानुनले स्पष्ट रूपमा अनिवार्य नगरेका अवस्थामा बीमा सेवासँग सम्बन्धित कागजातमा आय टिकटका रूपमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था अब लागू नहुने भएको छ ।
मन्त्रिपरिषद्ले गत मंसिर २९ गते सेवा प्रवाह प्रक्रियामा अनावश्यक रूपमा हुलाक टिकट प्रयोग गर्ने प्रचलन हटाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनमा ल्याउन बीमा प्राधिकरणले सबै सरोकारवाला निकायलाई आवश्यक व्यवस्थापन गर्न आग्रह गरेको हो ।
अबदेखि बीमा प्राधिकरण तथा बीमा कम्पनीहरूबाट प्रदान गरिने सेवाका क्रममा कानुनले विशेष रूपमा तोकेको अवस्थाबाहेक कुनै पनि कागजातमा हुलाक टिकट आवश्यक नपर्ने स्पष्ट गरिएको छ ।
यस व्यवस्थाले बीमा सेवा प्रणालीलाई थप सरल, छरितो तथा डिजिटलमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया