२०८२ फाल्गुन ६ | Feb 18, 2026

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षा र हिमपात, जनजीवन प्रभावित

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
816 views

ललितपुर । मङ्गलबार रातिदेखि मुस्ताङसहित हिमाली जिल्लाका विभिन्न भेगमा वर्षासँगै भारी हिमपात भएको छ । हिमपातपछि डाँडाकाँडा सेताम्मे बनेका छन् भने कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।

सशस्त्र प्रहरीका अनुसार हिमपातका कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । हिउँ परेपछि स्याउ, उवा, फापर, जौँ र आलुजस्ता बाली राम्रो हुने आशा बढेको घरपझोङ गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात जारी छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम सिमकोट र आसपासका उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ । यसले हवाई सेवा प्रभावित हुनुका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।

यस्तै, बाजुराका बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, बुढीनन्दा नगरपालिका तथा हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेक क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । हिमाली क्षेत्रका विच्छ्या, रुगिन, बाँधु, अल्लिस, दहकोट र कुरु गाउँमा जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै परेको हिमपातले भने गहुँलगायत हिउँदे बालीमा सिँचाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया