
ललितपुर - यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् । हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सैन्य कारबाहीका क्रममा विमान खसालिएको बताउनुभयो ।
प्रवक्ता सारीले सामाजिक सञ्जालमार्फत यमनी सशस्त्र बलले विमान खसाल्न सफल भएको दाबी गर्दै साउदी अरबले यमनमाथि ४५० वटा आक्रमण गरेको आरोप लगाउनुभयो । उहाँले हुथीका कारबाही साउदीका तेल केन्द्र र सैन्य आधारमा केन्द्रित रहेको तथा मक्कालगायत पवित्र स्थललाई लक्षित नगरिएको स्पष्ट पार्नुभयो ।
यमनमा जुलाईदेखि हुथी र साउदी समर्थित सरकारी फौजबीच पुनः लडाइँ चर्किएको छ । हुथीले साउदीविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै लाल सागरमा साउदी जहाजलाई लक्षित गर्ने चेतावनी दिएको छ । उसले यमनको लाल सागर तट र बाब अल–मन्दब जलघाँटीमा आफ्नो नियन्त्रण रहेको दाबीसमेत गरेको छ ।
साउदी पक्षले हुथीको लडाकू विमान खसालेको दाबीबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

बिजनेस पाटी












