ललितपुर — आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । टससँगै स्कटल्यान्डले पहिला ब्याटिङ गर्नेछ ।
आजको खेल दुवै टोलीका लागि सुपर सिक्समा पुग्ने दृष्टिले निर्णायक बनेको छ। स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।
यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। तर तेस्रो खेलमा टेष्ट राष्ट्र जिम्बाब्वेलाई छ विकेटले हराउँदै नेपालले सुपर सिक्सको आशा जीवित राखेको हो ।
आजको खेलका लागि नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र कविता जोशी समावेश छन् ।













फेसबुकबाट तपाईको प्रतिक्रिया