२०८२ चैत्र १५ | Mar 29, 2026

अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तारको तयारी : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड अध्यक्षको धारणा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वदेशी बीमा कम्पनीहरू पुँजी संरचना र व्यवस्थापन क्षमतामा सुदृढ हुँदै गएको भन्दै अब अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्न सक्षम भएको बताएका छन् । कम्पनीको नयाँ केन्द्रीय कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रारम्भिक चरणमा दक्षिण एसिया र अफ्रिकी मुलुकहरूलाई लक्षित गरी सेवा विस्तार गर्न सकिने बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय विस्तारका लागि नियामक निकायबाट नीतिगत तथा प्रक्रियागत सहजीकरण आवश्यक हुनेछ। यसले कम्पनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बन्न मद्दत पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको नियामक संस्थाका रूपमा स्वदेशी कम्पनीहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई प्रोत्साहन गर्ने धारणा सकारात्मक रहेको बताए। उनले विश्व बजारमा प्रवेशका लागि आवश्यक नीतिगत समर्थन उपलब्ध गराउन प्राधिकरण प्रतिबद्ध रहने संकेत दिए ।

नीतिगत सहजीकरण सुदृढ भएमा नेपाली बीमा कम्पनीहरूको सेवा दायरा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भई समग्र बीमा बजारको आकार र प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ ।

यसैबीच, कम्पनीले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफुट क्षेत्रफलमा निर्मित नयाँ केन्द्रीय कार्यालय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ। दुई तहको पार्किङसहित १२ तलाको उक्त भवन औपचारिक रूपमा उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया