आईएमई लाइफको नवौं वार्षिकोत्सवमा ‘न्यानो नानी’ अभियान

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २
|
561 views

ललितपुर - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा नवौं वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

    कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममार्फत समाजका विभिन्न वर्गलाई सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।

    यसै अवसरमा आइएमई लाइफ इन्स्योरेन्स र राष्ट्रिय आविष्कार केन्द्रबीच ‘न्यानो नानी’ बेबी वार्मर वितरणका लागि सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा उत्पादन गरेको बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

      ‘न्यानो नानी’ समय नपुगी जन्मिएका तथा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधा सीमित भएका क्षेत्रमा नवजात शिशुको स्वास्थ्य सुरक्षामा यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

      सहकार्यको पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ बेबी वार्मर हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

      आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरेको बताउँदै आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।

      कम्पनीले नौ वर्षको यात्रामा सर्वसुलभ बीमा पहुँच, छिटोछरितो दाबी भुक्तानी र ग्राहककेन्द्रित सेवामार्फत ग्राहकको विश्वास हासिल गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँगै गुणस्तरीय जीवन बीमा सेवा विस्तारलाई निरन्तरता दिने कम्पनीको भनाइ छ।

       पात्रो/राशिफल  रेडियो YouTube