ललितपुर - ललितपुर – इन्डोनेसियाली चर्चित तेल व्यवसायी मोहम्मद रिजा चालिद विरुद्ध ठूलो भ्रष्टाचार प्रकरणमा इन्टरपोलले रेड नोटिस जारी गरेको छ । चालिदमाथि करिब २८ करोड ५० लाख अमेरिकी डलर बराबरको भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।
‘पेट्रोल गडफादर’को उपनामले परिचित ६६ वर्षीय चालिद सन् २०१८–२०२३ मा इन्डोनेसियाको राज्य स्वामित्वमा रहेको तेल कम्पनी पर्टामिनासँग जोडिएको व्यापक अनियमिततामा संलग्न भएको आरोपमा खोजीमा छन् । उहाँमाथि मनी लन्ड्रिङ र तेल आयात सम्झौतामा अनियमित हेरफेर गरेको गम्भीर आरोप लगाइएको छ ।
इन्टरपोलको इन्डोनेसिया नेसनल सेन्ट्रल ब्युरोका सचिव उन्तुङ विड्यातमोकोका अनुसार जनवरी २३ मा औपचारिक रेड नोटिस जारी गरिएको हो। रेड नोटिससँगै चालिदलाई अस्थायी नियन्त्रणमा लिन १९६ सदस्य राष्ट्रका कानून कार्यान्वयन निकायहरूलाई सूचना पठाइएको छ ।
यसअघि जुलाईमा चालिदसँगै उनका छोरा मुहम्मद केरी एड्रियान्टो रिजा र पर्टामिनाका उच्च पदस्थ अधिकारीहरूलाई पनि भ्रष्टाचारको मुद्दामा अभियुक्तको रूपमा उल्लेख गरिएको थियो। अभियोजन पक्षका अनुसार उनीहरूले घरेलु स्रोतको सट्टा विदेशी आपूर्तिकर्ताबाट उच्च मूल्यमा कच्चा तेल आयात गर्ने योजना मिलाएका थिए, जसले राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको दाबी गरिएको छ ।
इन्डोनेसियाको अध्यागमन कार्यालयले चालिदको राहदानी अक्टोबरमै रद्द भएको जानकारी दिएको छ। राहदानी रद्द भएपछि उहाँ विदेशमा भए पनि औपचारिक इन्डोनेसियाली कागजात प्रयोग गर्न असमर्थ छन् ।
देशमा भ्रष्टाचारविरुद्ध कडा कारबाही जारी छ; सन् २०२३ मा एक पूर्व सञ्चार मन्त्री भ्रष्टाचारको अभियोगमा १५ वर्ष जेल सजाय भोगेका थिए। अनुसन्धानकर्ताहरूको अनुमान अनुसार, यस प्रकारका प्रकरणहरूले इन्डोनेसियालाई ठूलो आर्थिक नोक्सानी पुर्याएका छन् ।

बिजनेस पाटी