२०८२ चैत्र २१ | Apr 04, 2026

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ चैत ८ गतेदेखि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
561 views

ललितपुर – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। सो सेयरका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंक चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। साथै आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया