
ललितपुर - इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य मा सुरक्षा निगरानी कडा बनाएको जनाएको छ । इरानी सेना प्रवक्ता मोहम्मद अक्रमिनिया का अनुसार उक्त समुद्री मार्गबाट हुने जहाजहरूको आवागमन अब इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित हुनेछ ।
उनले जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै हालको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सुरक्षा उपायहरू सुदृढ गरिएको बताए। उनका अनुसार Islamic Revolutionary Guard Corps (IRGC) र राष्ट्रिय सेनाले संयुक्त रूपमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेका छन् ।
यसैबीच, इरानका उपविदेशमन्त्री हमिद घानबारी लाई उद्धृत गर्दै Fars News Agency ले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न कूटनीतिक माध्यममार्फत इरानसँग समन्वय गरिरहेको जनाएको छ ।
इरानले फेब्रुअरी २८ देखि विशेष परिस्थितिलाई मध्यनजर गर्दै यस क्षेत्रमा सुरक्षा कडाइ बढाएको हो । होर्मुज जलडमरूमध्य विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ, त्यसैले यहाँको गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ ।

बिजनेस पाटी















