ललितपुर – इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर १.८ प्रतिशतमा पुगेको छ । यो दर सन् २०२१ यताकै सबैभन्दा न्यून मानिएको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।
इजरायलमा अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति ०.८ प्रतिशत बिन्दुले घटेको हो । हालको दर सरकारले तोकेको १ देखि ३ प्रतिशतको लक्ष्य सीमाभित्र पर्छ । मुद्रास्फीति कम हुनु उपभोक्ताका लागि जीवनयापनको लागत नियन्त्रणमा रहेको सङ्केत मानिएको छ ।
मुद्रास्फीति नियन्त्रणमा आएपछि केन्द्रीय बैंकले आफ्नो आधार ब्याजदर दुई पटक घटाएको छ । जनवरी २०२४ देखि स्थिर रहेको ब्याजदर क्रमशः घटाइएपछि व्यवसाय र उद्योग क्षेत्रमा लगानी सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच, उद्योग व्यवसाय सङ्घले निर्यात क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन ब्याजदर अझै घटाउनुपर्ने सुझाव दिएको छ । यसले निर्यात प्रवर्द्धन र रोजगारी वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा पनि गिरावट देखिएको छ । मनोरञ्जन, लत्ताकपडा तथा खाद्य वस्तुको मूल्य घट्दा समग्र मूल्य स्तरमा कमी आएको हो। यद्यपि, चुरोट र गहनाको मूल्य बढेकाले गिरावटको प्रभाव केही हदसम्म कम भएको जनाइएको छ ।
अर्थविद्हरूका अनुसार मुद्रास्फीति लक्ष्य सीमाभित्र रहनु दीर्घकालीन आर्थिक सन्तुलन र स्थिरताको सङ्केत हो । ब्याजदर समायोजन र मूल्यवृद्धिमा आएको कमीले देशको आर्थिक स्वास्थ्यमा सुधार देखिएको विश्लेषण गरिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया