रसुवामा नौ जनाको धरौटी जफत

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २६
|
561 views

ललितपुर - ललितपुर । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका नौ जनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम १० प्रतिशत मत प्राप्त गर्न नसक्दा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ र नेकपा माओवादी (विप्लव) का होमप्रसाद आचार्यको धरौटी जफत भएको छ ।

यसैगरी स्वतन्त्र उम्मेदवारतर्फ चित्रकुमारी देवकोटा, मिङ्मर तामाङ र सागर लामा को पनि धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।

सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भई राज्यकोषमा जाने जनाइएको छ ।

नियमानुसार महिला उम्मेदवारको शुल्क पुरुषको भन्दा ५० प्रतिशत कम हुने भएकाले रसुवाबाट एकमात्र महिला उम्मेदवार चित्रकुमारी देवकोटाले जम्मा गरेको रु पाँच हजार र अन्य पुरुष उम्मेदवारले जम्मा गरेको रु १०–१० हजारका दरले कुल रु ९५ हजार सरकारको खातामा जाने बताइएको छ ।

रसुवामा नौ दल र तीन स्वतन्त्र गरी १२ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ । धरौटी फिर्ता पाउनेमा रास्वपाका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहनुभएको बताइएको छ ।

यस्तै, निर्वाचन ऐनअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउनुपर्ने भएकाले दल तथा स्वतन्त्र उम्मेदवारलाई आइतबार पत्राचार गरिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिनुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube