ललितपुर – म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा देखिएको अवरोध एक महिनापछि आजदेखि हटेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजना अन्तर्गत पर्ने दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकको दाङखोलामा पुल निर्माण ढिलाइ भएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । ठेक्का सम्झौता भएको छ वर्ष बित्दासमेत पुल निर्माण सुरु नभएपछि धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण कार्य बन्द गराएका थिए ।
स्थानीयको मागअनुसार चालु आर्थिक वर्षभित्रै मोटरेबल पुल निर्माण सुरु गर्ने सुनिश्चितता भएपछि राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शमा आन्दोलन फिर्ता लिएर आयोजना सञ्चालनमा सहयोग गर्ने निर्णय भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।
यस्तै, धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी छिटो पुल निर्माण सुरु र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दाङखोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु १ करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।
१८ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने तयारी भए पनि जलविद्युत् आयोजनाको बाँधको डुवान क्षेत्र पर्ने भएकाले प्रस्तावित स्थानभन्दा २०० मिटर माथि पुल सार्ने सहमति गरिएको थियो । तर विभिन्न प्रक्रियागत र कानुनी कारणले निर्माण सुरु हुन नसक्दा स्थानीयले दबाबस्वरूप आयोजना रोकेका थिए ।
पुरानो अस्थायी पुल जीर्ण हुँदा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । अब पुल निर्माण अघि बढेसँगै आवागमन र आयोजना दुवै सहज हुने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया