ललितपुर – मैथिली विकास कोषको आयोजनामा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव आजदेखि सुरु भएको छ । रङ्गभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित महोत्सवको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटनको अवसरमा निकालिएको शोभायात्रा रङ्गभूमि मैदानबाट सुरु भई नगर परिक्रमा गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति र लोकझाँकीसहित सम्पन्न भएको थियो । मैथिली वेशभूषामा सजिएका कलाकार, स्थानीय समुदायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको सहभागिताले जनकपुरधामको मुख्य सडक क्षेत्र उत्सवमय बनेको थियो ।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ। उहाँले भन्नुभयो, विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरी हाम्रो मौलिक पहिचानलाई सशक्त बनाउने प्रयास गरेका छौँ।
शुक्रबारसम्म सञ्चालन हुने महोत्सवमा साहित्यिक गोष्ठी, कवितावाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, नाटक मञ्चन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ। कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकार, साहित्यकार र रङ्गकर्मीहरूको सहभागिता रहनेछ ।
महोत्सवको पहिलो दिन आयोजित सांस्कृतिक झाँकीमा विमलेन्द्र निधिको पनि सहभागिता रहेको थियो । मैथिली वेशभूषामा सजिएर शोभायात्रामा सहभागी भएका उहाँले महोत्सवको सफलताको कामना गर्दै मैथिली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा कोषले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आयोजक संस्थाले यस वर्ष आफ्नै भवनमा महोत्सव आयोजना गरेको जनाएको छ। विगत वर्षहरूको अनुभवलाई समेट्दै यस पटक कार्यक्रमलाई अझ व्यवस्थित, फराकिलो र अन्तर्राष्ट्रिय सहभागितामुखी बनाइएको कोषले जनाएको छ ।
जनकपुरधामको सांस्कृतिक धरोहर, धार्मिक महत्व र ऐतिहासिक पृष्ठभूमिलाई साहित्य र नाट्य माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। आयोजकले सम्पूर्ण साहित्यप्रेमी, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
महोत्सवले आगामी चार दिन जनकपुरधामलाई साहित्य, कला र रङ्गमञ्चको सङ्गमस्थल बनाउने विश्वास गरिएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया