जावलाखेल चिडियाखानामा ११२ प्रजाति, १२७३ जीवजन्तुको बसोबास

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
969 views

ललितपुर - ललितपुर –राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन हुँदै आएको सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत पहलमा स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो । पछि यो चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।

चिडियाखाना प्रशासनका अनुसार यहाँका जीवजन्तुको सङ्ख्या नयाँ जन्म, मृत्यु र जङ्गलबाट उद्धार गरी ल्याइने आधारमा समय समयमा घटबढ हुने गर्छ । सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षे ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्यतया हात्तीको आयु ७०–८० वर्षसम्म हुन्छ ।

चिडियाखानामा रहेका चार बाघमध्ये सबैभन्दा वृद्ध ‘बगौरा’ नामक बाघ १५ वर्षको छ । तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको ‘बाङ्गे’ १४ वर्षको छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन् ।

साना जनावरमा मुसा प्रमुख छन्, जसको औसत आयु पाँच–छ वर्षसम्म रहन्छ । सूचना अधिकारी कोइरालाले बताए अनुसार मुसा र खरायोजस्ता साना जनावर हप्तामा एकपटक अजिङ्गरको आहारका लागि दिइन्छ । कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहार दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका यी साना जनावर प्रयोग गरिन्छ ।

चिडियाखानामा बिरामी जनावर भेटिएमा उनीहरूलाई क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था छ । यद्यपि केही जीवजन्तुले प्रजनन गरे पनि अधिकांशले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नभएको कारण प्रजनन कम हुन्छ। प्राकृतिक जङ्गल वातावरण उनीहरूको प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube