युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ७
|
612 views

ललितपुर - युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनुभएको छ । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । यस्तो युद्धका बेला चुनाव गराउनु आफैँमा ठूलो जोखिम हो । अहिलेको अवस्थामा चुनाव गराउनु देशका लागि सुनामीसरह हुनेछ, जसले युक्रेनलाई विभाजित गर्नेछ, जेलेन्स्कीले भन्नुभयो ।

रुसी सेनाविरुद्ध युद्धमा केन्द्रित युक्रेनले ‘मार्शल ल’ लागू भएपछि चुनाव स्थगित गरेको छ । जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ ।

      यदि हामी देशलाई ध्वस्त पार्न चाहन्छौँ भने मात्रै युद्धका बेला चुनाव गराउने दिशामा अघि बढ्न सक्छौँ, ४८ वर्षीय जेलेन्स्कीले भन्नुभयो ।उहाँले शनिबार एएफपीलगायत सञ्चारमाध्यमका पत्रकारसँग ब्रिफिङ गर्नुभएको थियो । विभिन्न राजनीतिक विवादबीच महिनौँपछि भएको यो पहिलो पत्रकार भेटघाट हो ।

      जेलेन्स्कीले पूर्वरक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाएपछि युक्रेनमा राजनीतिक विवाद चर्किएको थियो । फेडोरोभले यसै साता चुनाव गराउने उपाय खोज्नुपर्ने माग गर्नुभएको थियो । यद्यपि, उहाँले त्यसका लागि कुनै ठोस कार्ययोजना प्रस्तुत गर्नुभएको थिएन ।

      विशेषज्ञहरूले युद्धका बेला चुनाव गराउँदा सैनिक, विदेशमा रहेका लाखौँ युक्रेनी नागरिक तथा रुसी नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाले कसरी मतदान गर्ने भन्ने प्रश्न उठाएका छन् । साथै, रुसबाट हुन सक्ने गलत सूचना प्रवाहको जोखिम पनि रहेको उनीहरूको भनाइ छ ।

      ‘किभ इन्टरनेसनल इन्स्टिच्युट अफ सोसियोलोजी’को सर्वेक्षणअनुसार केबल १५ प्रतिशत युक्रेनी नागरिक युद्ध समाप्त हुनुअघि चुनाव गराउने पक्षमा छन् ।

      ब्रिफिङका क्रममा जेलेन्स्कीले फेडोरोभको आलोचना गर्दै उहाँ ‘गलत दिशातर्फ अघि बढिरहेको वा कसैले त्यसतर्फ धकेलिरहेको’, टिप्पणी गर्नुभयो ।

      जेलेन्स्कीले विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई भए पनि सैनिकप्रति अनादरपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभयो । उहाँले समाज र सेनाबीच विभाजन हुन नहुने बताउँदै यस्तो विभाजनले देशलाई थप जोखिममा पार्न सक्ने चेतावनी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube