२०८२ फाल्गुन ३ | Feb 15, 2026

जुम्ला: हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १२
|
1.2k views

ललितपुर । जुम्लामा माघको पहिलो हप्तादेखि परेको हिमपातसँगै अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ। खलङ्गा लगायत माथिल्लो भेगमा खानेपानीका पाइप फुट्न थालेका छन्। नागरिक समाजका संयोजक राजबहादुर महतका अनुसार विद्यालय, क्याम्पस र सरकारी कार्यालय खुले पनि सेवा प्रयोगकर्ता कम देखिन्छ। बजारमा मानिस आगो बालेर बस्न बाध्य भएका छन् ।

चन्दननाथ नगरपालिकाकी सुनिता बुढाले विद्यार्थीको उपस्थिती न्यून भएको र वृद्ध, सुत्केरी, बालबालिका तथा दीर्घरोगीहरू चिसोबाट बढी प्रभावित भएको बताइन् ।

जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीले अत्यधिक चिसोका कारण पानी जम्न थालेको, श्वासप्रश्वाससम्बन्धी समस्या बढेको र स्थानीयको दैनिकी कठिन भएको जानकारी दिनुभयो ।

तर किसान भने खुशी छन्। हिमपातपछि हिउँदे बाली राम्रो हुने भएकाले उनीहरूलाई राहत पुग्ने देखिएको छ । तिला गाउँपालिका–१ का लङ्क बुढाका अनुसार गहुँ, जौ, आलु लगायत मुख्य बाली राम्रो हुने सम्भावना छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले स्याउका नयाँ बिरुवा रोप्न पनि उपयुक्त समय आएको बताए ।

हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे देखिन्छन् । स्थानीय युवायुवती हिउँमा रमाउँदै फोटो र भिडियो खिच्न व्यस्त छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया