
ललितपुर - कर्मचारी मिलन केन्द्र सिन्धुलीको आयोजनामा शनिवार कविता प्रतियोगिता सम्पन्न भएको छ ।
दुई चरणमा सम्पन्न भएको प्रतियोगिता सिन्धुली सदरमुकामका ६ विद्यालयका १५ विद्यार्थीहरू तथा ६ वटा सरकारी कार्यालयका कविहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा साइनिङ्मुन एकेडेमी मधुटारकी छात्रा नन्दनी रौनियारले प्रथम स्थान हासिल गरिन् । रौनियारले ‘म हार्न जन्मेकी हैन’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् ।
त्यसै गरी नौमती मावि माढिबजारका छात्र निराकार सिग्देल दितीय र जनज्योति मावि फोस्रेटारका छात्र देश्रा कुँवर तृतीय भएका थिए । सिग्देलले ‘यो कस्तो देशप्रेम?’ र कुँवरले ‘कल्पनाको कैदी’ शीर्षकका कविता प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा चौथौँ र पाचौ स्थानका कविहरूलाई पनि पुरस्कृत गरिएको थियो । चौथोमा नौमती माविका रशिका शर्मा र पाँचौँमा जनज्योति माविका विनिता मगर पुरस्कृत भएका थिए ।
यस्तै कर्मचारी तर्फको कविता प्रतियोगितामा सिन्धुली अस्पतालमा कार्यरत कर्मचारी गोपी थापामगर प्रथम भएका छन् । थापामगरले ‘उठ् गोपि उठ्’ शीर्षकका कविता प्रस्तुत गरेका थिए । दोस्रो स्थान हुलाक कार्यालय सिन्धुलीका सह लेखापाल समिर सापकोटा क्षेत्री र तेस्रो स्थान कारागार कार्यालयका सहायक कम्प्युटर अपरेटर गौरव महतोले प्राप्त गरेका थिए । कर्मचारी तर्फको कविता प्रतियोगितामा चौथौँ स्थान नापी कार्यालय सिन्धुलीका नायव सुब्बा लोकेन्द्र भण्डारीले लिए ।
दुवै प्रतियोगितामा प्रथम, दितीय, तृतीय, चौथौँ र पाँचौँ हुने कविहरूलाई क्रमशः १२ हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिने कर्मचारी मिलन केन्द्र सिन्धुलीका सचिव प्रविण कटवालले जानकारी दिएका छन् ।
सचिव कटवालका अनुसार विजेताहरूलाई कर्मचारी दिवस भदौ २२ गते पुरस्कार वितरण गरिने छ ।
कर्मचारी मिलन केन्द्र सिन्धुलीका उपाध्यक्ष दिपक तिमल्सेनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ रहेकी थिइन् । प्रतियोगिताको निर्णायकहरूमा ख्यातिप्राप्त कविहरू प्रोल्लास सिन्धुली ,हेम प्रभास र प्रसिद्ध गीतकार एवम् कवि लोकराज अधिकारी रहेका थिए ।

बिजनेस पाटी