
ललितपुर - कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ ।
भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा आएको हो । ‘एमेजोन अनलाइन पोर्टल’मा राखिएको विकका १०८ पृष्ठको उक्त सङ्ग्रहमा ६२ वटा कविता छन् ।
गुलरियाका विकले लामो समयदेखि अङ्ग्रेजीमा कविता रचना गर्दै आउनुभएको छ । अङ्ग्रेजी भाषामा तुलनात्मक रूपमा कम मात्रामा रचना कोरिने गरिन्छ । उहाँका कविता र लेखहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्ग्रह, पत्रपत्रिका र ‘अनलाइन’ माध्यमहरूमा प्रकाशित भइसकेका छन् । ‘प्यान्डामिक पोयट्री’, ‘हाइपरपोयम’, र ड्युयट्स अफ प्लुरल डुओ—लर्स’ नामक अन्तरराष्ट्रिय कविता सङ्ग्रहमा उहाँले लेख्नुभएका कविताहरू पनि समावेश गरिएका छन् ।
विक कवितालाई मौन आवाजहरूको प्रतिबिम्बका रूपमा लिने गरेको बताउनुहुन्छ । त्यसैले उहाँले आफ्न सिर्जनामा मौन र उपेक्षितहरूको आवाज उजागर गर्ने प्रयत्न गरेको सुनाउनुभयो । ‘दलित समुदायले भोग्नुपरेको सामाजिक यथार्थ यस पुस्तकमा चित्रित गरिएको छ र यसको समग्र सन्देश पुनर्जागरण तथा रूपान्तरण हो’, विकले भन्नुभयो ।
कवि विकले आफ्ना रचनामा राज्यले दलित समुदायमाथि थोपरेको विभेद र त्यसको चपेटामा उक्त समुदायले भोग्नु परेको परिणामलाई मानवीय संवेदनाको दृष्टि राखेर कविता रचेको बताउनुभयो । सरकारले नीति र संरचना बनाएर दलितमाथि अपमाजनक व्यवहार गरेकामा कवितामार्फत उहाँले आलोचना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मेरो कविताले सीमान्तकृत समुदायको पीडा उजागर गर्नाका साथै सामाजिक न्यायको पक्षमा समेत वकालत गरेको छ ।’ उहाँले समाजको बेथितिलाई रचनात्मक ढङ्गले निरुत्साहित गर्न कविता सुन्दर माध्यम हुने गरेको धारणा राख्नुभयो ।

बिजनेस पाटी