ललितपुर - ललितपुर – काठमाडौँ महानगरपालिकाले (कामपा) सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने आवश्यकतामा ध्यान दिँदै प्रक्रिया अघि बढाएको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी सवारी साधनको प्रयोग घटाएर सार्वजनिक यातायात प्रयोग गर्न उत्साहित गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षहरूसँग छलफल सुरु भइसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन । तर हामीले यो लक्ष्य हासिल नगरी हुँदैन । भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्न योजना अनुसार चरणबद्ध रुपमा अघि बढ्नुपर्छ ।
यसअघि साझा यातायातका अधिकारीसँगको बैठकमा ललितपुरको पाटन अस्पतालदेखि अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्रसम्म एक रुट सञ्चालन गर्ने सम्भावना तथा कलङ्कीदेखि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म रात्रिकालीन विद्युतीय बस सञ्चालन गर्ने विषयमा छलफल भइसकेको छ ।
कामपाले पूर्वाधार सुधार, वातावरणमैत्री र यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। यसअनुरूप सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत प्रणाली, वास्तविक समय सूचना प्रणाली, बस स्टेसन र सार्वजनिक शौचालय निर्माण, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति र साइकल यात्रीमैत्री सडक निर्माण तथा व्यवस्थापनको योजना अघि बढाइँदैछ ।
सार्वजनिक यातायात सुधारका लागि अन्य चुनौतीहरूमा यातायात विवरण सङ्कलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग, आवास क्षेत्र, व्यापारिक केन्द्र र सपिङ मलमा सेवा उपलब्धता वृद्धि, सेवा शुल्क निर्धारण, रुट योजना, एकतर्फी वा दोहोरो सञ्चालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेजस्ता कार्यहरू छन् ।
कामपाले यो प्रयास तहगत सरकार, निजी साझेदार र समुदायको सहभागितासहित अघि बढाउनुपर्ने बताएको छ ।

बिजनेस पाटी