कङ्गोमा नयाँ इबोला प्रकोप, ६५ जनाको मृत्युपछि उच्च सतर्कता

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १
|
255 views

ललितपुर - कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् ।

अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएका छन् भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ ।

    अधिकांश सङ्क्रमण र मृत्यु मोङ्गवालु र रुवाम्पारा स्वास्थ्य क्षेत्रमा फेला परेको बताइएको छ। प्रयोगशालाबाट पुष्टि भएका बिरामीमध्ये चार जनाको मृत्यु भइसकेको छ ।

      इबोला अत्यधिक सङ्क्रामक भाइरस हो, जुन रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत सर्ने गर्छ। यसले गम्भीर तथा ज्यानै जाने खालको रोग निम्त्याउने भएकाले स्वास्थ्य अधिकारीहरूले विशेष सतर्कता अपनाएका छन् । प्रारम्भिक परीक्षणमा जाँच गरिएका २० नमूनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको अफ्रिका सीडीसीले जनाएको छ।

      स्वास्थ्य अधिकारीहरूका अनुसार कमजोर स्वास्थ्य पूर्वाधार, सीमित पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग थप फैलिन सक्ने जोखिम बढेको छ। प्रभावित क्षेत्र युगान्डा र दक्षिण सुडान नजिक भएकाले सीमापार सङ्क्रमणको खतरा समेत रहेको बताइएको छ ।

      यसैबीच, अफ्रिका सीडीसीले कङ्गो, युगान्डा र दक्षिण सुडानका स्वास्थ्य अधिकारीसँग उच्चस्तरीय समन्वय बैठक बोलाएको छ। बैठकमा निगरानी, प्रयोगशाला सहयोग, सङ्क्रमण रोकथाम, जोखिम सञ्चार र आपत्कालीन प्रतिकार्य योजना मा विशेष ध्यान दिइने जनाइएको छ ।

      सन् १९७६ मा पहिलोपटक इबोला पुष्टि भएयता कङ्गोमा यो १७औँ इबोला प्रकोप हो। यसअघि सन् २०१८ देखि २०२० सम्म फैलिएको महामारीमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube