संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैनः सचेतक धिताल

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १६
|
204 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उहाँले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो ।

संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताउनुभयो ।

      संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उहाँले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गर्नुभयो । ‘सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन’, उहाँले भन्नुभयो ।

      सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताउनुभयो । ‘भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन’, उहाँले भन्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube