२०८२ चैत्र २१ | Apr 04, 2026

ब्याजदर न्यून तहमा , तर कर्जा माग किन सुस्त ?

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
1.2k views

ललितपुर – बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झारेका छन् । निक्षेपको औसत ब्याजदर करिब ३.५ प्रतिशतमा सीमित भएपछि कर्जा लिन अनुकूल अवस्था बनेको देखिन्छ । तर यस्तो सहज वातावरण हुँदाहुँदै पनि निजी क्षेत्रबाट अपेक्षित लगानी विस्तार हुन सकेको छैन ।


विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा रहनु, मुद्रास्फीति नियन्त्रणमा हुनु तथा आयात–निर्यात सन्तुलनजस्ता बाह्य सूचकहरू सकारात्मक देखिए पनि आन्तरिक लगानी वातावरण भने कमजोर नै देखिएको छ । यही कारण कर्जाको माग सुस्त रहँदा समग्र अर्थतन्त्र चलायमान हुन सकेको छैन ।


चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । तर पुस मसान्तसम्म कर्जा विस्तार करिब ३.६ प्रतिशतमा मात्र सीमित हुँदा वार्षिक लक्ष्य हासिल गर्न चुनौती थपिएको देखिन्छ । यही प्रवृत्ति कायम रहेमा वर्षको अन्त्यसम्म कर्जा विस्तार लक्ष्यभन्दा निकै तल रहने अनुमान गरिएको छ ।


अर्थतन्त्रको प्रमुख इञ्जिन मानिने निजी क्षेत्रको लगानी सुस्त हुनुका पछाडि मनोवैज्ञानिक कारणहरू बलियो देखिएका छन् । पछिल्ला महिनाहरूमा भएका आन्दोलन, तोडफोड तथा असुरक्षासम्बन्धी घटनाले लगानीकर्ताको विश्वास कमजोर बनाएको व्यवसायीहरूको भनाइ छ । सुरक्षाबारे स्पष्ट भरोसा नहुँदा नयाँ परियोजनामा लगानी गर्ने वा विद्यमान व्यवसाय विस्तार गर्ने निर्णय स्थगित हुने अवस्था देखिएको छ ।


बैंकिङ प्रणालीमा पर्याप्त तरलता र लगानीयोग्य रकम उपलब्ध भए पनि कर्जाको माग कमजोर रहनुले अर्थतन्त्र ‘वेट एन्ड वाच’ अवस्थामा पुगेको विश्लेषकहरूको निष्कर्ष छ । ब्याजदर न्यून भए पनि उद्योग, निर्माण, व्यापार र सेवा क्षेत्रमा अपेक्षित गतिशीलता नदेखिनु अर्थतन्त्रका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ ।


अर्थविद्हरूका अनुसार अबको आवश्यकता केवल मौद्रिक नीतिको सहजता मात्र होइन । लगानीमैत्री वातावरण निर्माण, सुरक्षाको सुनिश्चितता, नीतिगत स्थायित्व र निजी क्षेत्रको मनोबल पुनःस्थापना गर्न सकिए मात्र कर्जा प्रवाह बढ्ने र आर्थिक गतिविधिमा वास्तविक गति आउने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया