ललितपुर – काठमाडौंमा आजदेखि तीन दिनसम्म दक्षिण एसियाली जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक प्रसार र सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु भएको छ । कार्यक्रम काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको छ र नेपाल, बंगलादेश, श्रीलंका र भारतका विश्वविद्यालयहरू परियोजना साझेदारका रूपमा सहभागी छन् ।
क्यानडाको अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (IDRC) को सहयोगमा सञ्चालन भएको यस कार्यशालामा नेपाल इन्जिनियरिङ कलेज, बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय अन्तर्गतको जल तथा बाढी व्यवस्थापन संस्थान र श्रीलंकाको पेराडेनिया विश्वविद्यालय परियोजना साझेदार रहेका छन् ।
उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले जल तथा जलवायु परिवर्तनका चुनौतीहरूले कृषि, स्वास्थ्य, जीविकोपार्जन र खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्ने तर यसको असर सबैमा समान नहुने उल्लेख गर्नुभयो। “महिला र सीमांत समुदाय बढी जोखिममा पर्छन् र निर्णय प्रक्रियामा सहभागी हुन सीमित अवसर पाउँछन्, उहाँले भन्नुभयो ।
उपकुलपति डा. केसीले जल तथा जलवायु विज्ञानमा लैङ्गिक दृष्टिकोण समावेश गर्दा जोखिम न्यूनीकरण, न्यायोचित नीति निर्माण र प्रभावकारी समाधान विकासमा सहयोग पुग्ने बताए। पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अजय थापाले जलवायु परिवर्तन, महिला सशक्तिकरण र वातावरणीय संरक्षणबीचको अन्तरसम्बन्धसम्बन्धी चर्चा गर्दै दिगो जल व्यवस्थापनमा महिलाको स्थानीय ज्ञान र नेतृत्वको भूमिकालाई जोड दिनुभयो ।
नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले कार्यशालाले दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानका महत्वपूर्ण विषयहरू उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यशालाको पहिलो दिनमा IDRC का इयान थोम्पसन र पेराडेनिया विश्वविद्यालयका प्राध्यापक धम्मिका दयावन्साले मुख्य तथा विशेष मन्तव्य प्रस्तुत गरे । साथै, नेपाल, बंगलादेश र श्रीलंका बाट विशेषज्ञहरूले STEM आधारित प्राविधिक सत्र र एकीकृत जलस्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका अनुभव प्रस्तुत गरे ।
सरकारी निकाय, गैरसरकारी संस्था, उद्योग क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार, शैक्षिक संस्था र विद्यार्थीहरूको सहभागिता रहेको यस कार्यशालाले दक्षिण एसियामा लैङ्गिक उत्तरदायी जल तथा जलवायु विज्ञान अनुसन्धानका लागि ज्ञान आदान–प्रदान र सहकार्यको क्षेत्रीय मञ्च बन्ने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया