कास्की–२ मा त्रिपक्षीय प्रतिस्पर्धा, निर्वाचन रोचक

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १३
|
561 views

ललितपुर - ललितपुर – कास्की जिल्ला क्षेत्र नं २ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभाव रहेको यो क्षेत्रलाई धेरैले उत्सुकताका साथ हेरेका छन् ।

अघिल्लो निर्वाचनमा एमालेकी नेत्री विद्या भट्टराई विजयी हुनुभएको थियो, भने सोही पार्टीका रवीन्द्र अधिकारी २०६४, २०७० को संविधानसभा र २०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनका बाबजुद विद्या भट्टराई विजयी हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल र नेपाली कांग्रेसका श्रीनाथ बराल क्रमशः दोस्रो र तेस्रो भएका थिए । यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई पाखा लगाउने दाबी गरेको छ भने नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा गठबन्धनका कारण आफ्नै चुनाव चिह्न प्रयोग गर्न नपाएको गुनासो गरेको छ । यसपटक आफ्नै चिह्नमा मत माग्न पाएकाले प्रतिस्पर्धा कडा हुने उसको भनाइ छ । मतदाता विभाजित छन् र अधिकांशले एमाले, कांग्रेस र राप्रपाबीच प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।

यहाँ एमालेका रश्मि आचार्य, कांग्रेसका माधव बास्तोला, एकीकृत समाजवादीका हेमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजङ गुरुङसहित १७ उम्मेदवार छन् ।

गाउँबस्तीमा मत माग्न गएका उम्मेदवारले भ्रष्टाचारमुक्त प्रशासन, रोजगारी, गुणस्तरीय शिक्षा र समृद्धिलाई प्राथमिकता दिने बताएका छन् । मतदाताले भरतपोखरीका चवादी, कुर्लिङ, सिङगारेवासलगायत गाउँमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube