कास्की । कास्की जिल्लाको रुपा गाउँपालिकाले पालिका भित्रका सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । रुपा गाउँपालिकामा रहेका कुल तीन हजार ५०० घरपरिवार मध्ये अहिलेसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकी रहेकालाई पनि यस विमा कार्यक्रमभित्र सहभागी गराइने पालिका अध्यक्षले जानकारी गराउनुभएको हो ।
यस स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत एउटै परिवारभित्रका पाँच जनासम्मको बिमा गर्दा लाग्ने रु. तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने भएको हो । स्वास्थ्य बिमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन गरिसकेको कुरा पालिका अध्यक्षले बताउनुभयो। उहाँले भन्नुभयो– “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।”
यस्तै पालिका भित्रको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको छ । बिमा बोर्डसँगको सहकार्यपछि रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । पालिकाभित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले त्यसलाई सहज बनाउन स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरिएको गाउँपालिकाले जनाएको छ ।
रुपा अस्पतालमा हाल दुई चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिनुभयो । अस्पतालमा आगामी वर्षदेखि दन्त उपचार सेवा विस्तार गर्ने योजना छ । सो अस्पताल सञ्चालनका लागि पालिकाले वार्षिक रु ५० लाख खर्च गर्दै आएको बरालले बताउनुभयो ।
रुपा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवास सुवेदीले अस्पतालबाट २४सैँ घण्टा आकस्मिक सेवा, सार्वजनिक बिदाको दिनबाहेक ओपिडी सेवा, निःशुल्क एम्बुलेन्स सुविधा, एक्स रे मेसिन, ल्याब, फार्मेसी, गर्भवती जाँच, गाउँघर स्वास्थ्य क्लिनिक, नियमित खोप सेवा उपलब्ध भएको जानकारी दिनुभयो ।
यस स्वास्थ्य विमा कार्यक्रमले रुपा गाउँपालिकाका बाँकी रहेका सबै नागरिक स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुने पक्का भएको छ ।