ललितपुर - ललितपुर – काठमाडौं उपत्यकाको वायुप्रदूषण घटिरहेको छ । आज दिउँसो वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) ९९ पुगेको छ । गत मङ्गलबार उपत्यकाको एक्युआइ १९१ पुगेको थियो भने बुधबार सोही समयमा घटेर ११४ मा झरेको थियो । हावा चल्ने दर बढेसँगै वायुप्रदूषण घटेको वातावरण विभागले जनाएको छ । एक्युआइका अनुसार मङ्गलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरमा सूचीकृत भएकामा आज १८औँ स्थानमा झरेको छ । हाल पाकिस्तानको लाहोर ३७३ एक्युआइसहित पहिलो र भारतको कोलकात्ता १८६ एक्युआइसहित दोस्रो स्थानमा छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सुक्खा मौसममा वायुप्रदूषण बढ्ने र वर्षा तथा हावा चल्दा घट्ने जानकारी दिनुभयो । ‘वर्षाले हावामा रहेका धुलो तथा कण जमिनमा झार्न मद्दत गर्छ र हावाले कण उडाउँदा प्रदूषण कम हुन्छ‘ साथै, दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको छ ।
वातावरणविद् भुषण तुलाधारले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुवाँ परीक्षण र मापदण्डको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको सुझाव दिनुभयो । एक्युआइको मापदण्डअनुसार ०–५० ‘राम्रो’ (हरियो सङ्केत), ५१–१०० ‘सचेत रहनुपर्ने’ (पहेंलो संकेत), १०१–१५० ‘अस्वस्थ’ (विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई असर), १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’, ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

बिजनेस पाटी