कामपाले दियो भूमि प्रशासन सेवा प्रदान

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १८
|
357 views

ललितपुर - काठमाडौं महानगरपालिकाले वडा भूमि प्रशासन सेवा केन्द्रबाट १५ दिनमा ४८ जनालाई सेवा प्रदान गरेको छ । विसं २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि नमूनाका रूपमा सेवा थालिएका वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट यो सेवा प्रदान गरिएको हो ।

प्रदान गरिएका सेवामध्ये सबैभन्दा धेरै २१ जनाको स्वामित्व परिवर्तनको हो । भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुुसार यस्तै १९ जनालाई प्रमाणपुर्जा प्रदान गरिएको छ ।

      यसमा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको लिखत पारित, रैकर जग्गा दर्ता सेवा प्रदान गरिएका छन् श्रेष्ठले भन्नुभयो ।

      कामपाले यसअघि चारकिल्ला सिफारिस, घरबाटो सिफारिसजस्ता सेवा दिँदै आएको थियो । यो सेवा प्रारम्भ भएपछि भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम सञ्चालन भएका वडाबाटै प्राप्त हुनेछन् ।

      नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि वडाबाटै हुनेछ ।

       पात्रो/राशिफल  रेडियो YouTube