ललितपुर - ललितपुर – काठमाडौं महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि छ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । गत वर्षको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने योजना अनुरूप कार्यक्रम अघि बढाइएको हो ।
कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालय मा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा ५२३ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकहरूले कक्षा सञ्चालन गर्नेछन् ।
न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालय मा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछ । यी विद्यालयका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ ।
यसरी दुवै समूह गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ ।
गीतामाता माविमा कक्षाको सुरुआत गर्दै कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विद्यार्थीमा परीक्षाको डर हटाई आत्मविश्वास बढाउने र उत्तर लेख्ने सीप विकास गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
यस वर्ष कामपाका सामुदायिक विद्यालयबाट करिब चार हजार ५५७ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् ।
विसं २०८१ को एसइईमा सहभागीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए, जसमा १७ जनाले ४ जिपिए हासिल गरेका थिए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो ।

बिजनेस पाटी