ललितपुर - ललितपुर – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा दुई हजार ४०० कर्मचारी खटाइने भएको छ । यसका लागि जिल्लाको दुवै निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको विवरण सार्वजनिक गरेका छन् ।
काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कूल ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएका छन् । प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरमा कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहयोगी कर्मचारी खटाइनेछ। यस्तै, एक सहयोगी कर्मचारी पनि मतदान केन्द्रमा खटाइने भएको छ ।
जिल्लामा ४०० मतदान केन्द्रमध्ये ३ मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सञ्चालन गर्ने जिम्मा पाएका छन् । क्षेत्र नं १ को धुलिखेल–१० स्थित कालिका माध्यमिक विद्यालय शारदाबतासे ‘ख’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस केन्द्रमा मतदान अधिकृत दमयन्ती पाण्डे, सहायक मतदान अधिकृत श्रद्धा शर्मा, सहायक कर्मचारी चन्द्रिका विक, मन्दिरा न्यौपाने र सरिता खनाल तिमल्सेना खटिने भएका छन् । सहयोगी कर्मचारीको रुपमा सोनिका सुनार खटिनुहुनेछ ।
सोही क्षेत्रको धुलिखेल–९ स्थित करथरी मावि ‘ख’ केन्द्रमा सहयोगी कर्मचारीबाहेक अन्य कर्मचारी महिला मात्रै खटिनेछन् । यस केन्द्रमा मतदान अधिकृत सरिता लामा, सहायक मतदान अधिकृत दुर्गा अधिकारी र सहायक कर्मचारी सीता लामा, गोपिनी खड्का र गीता पुर्कुटी खटाइएको छ ।
निर्वाचन क्षेत्र नं २ को धुलिखेलस्थित सञ्जीवनी मावि अड्डाबजार ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै छन् । यस केन्द्रमा मतदान अधिकृत अमुना सुवाल, सहायक मतदान अधिकृत रीता अधिकारी, सहायक कर्मचारी कविता पाण्डेय, मीना भोमी, सपना श्रेष्ठ र सहयोगी कर्मचारी राधिका बोहरा खटाइएको छ ।
सञ्जीवनी मावि अड्डाबजार ‘ख’ मतदान केन्द्रमा पनि सबै कर्मचारी महिला मात्रै छन् । यहाँ मतदान अधिकृत निष्ठा कर्माचार्य, सहायक मतदान अधिकृत अस्मिता पौडेल, सहायक कर्मचारी प्रेक्षा खनाल, समीक्षा बसेल, महेश्वरी चन्द र सहयोगी कर्मचारी लक्ष्मी हुमागाईं खटाइएका छन् ।
निर्वाचनमा जिल्लामा दुई हजार ४०० कर्मचारी खटाइने भएको हो । जिल्ला निर्वाचन अधिकारी दिनेश सिवाकोटीका अनुसार ४०० मतदान अधिकृतका लागि ५१ उपसचिवस्तरका कर्मचारी, ५४६ शाखा अधिकृतस्तर र १९१ अधिकृत छैठौँ तहका कर्मचारीको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिफारिस गरिएको छ । चार सहायक मतदान अधिकृतका लागि नायब सुब्बास्तरका ८७७, एक हजार दुई सय सहायक कर्मचारी र चार सय सहयोगी कर्मचारीका लागि ५०३ कर्मचारीको नामावली सङ्कलन तयार गरिएको छ ।
जिल्लामा कूल तीन लाख २६ हजार ६११ मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ मा १८ जना र क्षेत्र नं २ मा २४ जना उम्मेदवारले दर्ता गरेका छन्। यहाँ ११ स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

बिजनेस पाटी