हुरीले टीकापुरमा केराखेती नष्ट

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २८
|
255 views

ललितपुर - बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ ।

टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताउनुभयो ।

    त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ । पाँच बिघामा केराखेती गर्नुभएका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गर्नुभएको थियो ।

      ‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’, उहाँले भन्नुभयो, ‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पार्यो’, उहाँले थप्नुभयो ।

      टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ । ‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’, उहाँले भन्नुभयो, ‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ ।’

      टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताउनुभयो ।

      ‘धेरै किसानले फोन गरिरहनुभएको छ । ठूलो क्षति भएको छ’, उहाँ भन्नुहुन्छ, ‘क्षतिको विवरण थाह पाउनका लागि वडावडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ ।’

       पात्रो/राशिफल  रेडियो YouTube