२०८२ चैत्र २१ | Apr 04, 2026

क्वारेन्टिनमा कडाइ : नेपाली केराले पायो बजार

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ११
|
561 views

ललितपुर – सरकारले क्वारेन्टिनमा कडाइ गरेपछि भारतबाट हुने केरा आयात घटेको र त्यसको प्रभावस्वरूप स्वदेशी केराको माग उल्लेख्य रूपमा बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार विगतका वर्षमा बिक्री नहुँदा किसान समस्यामा परे पनि अहिले भने स्थानीय उत्पादनले राम्रो बजार र मूल्य पाउन थालेको छ ।

उनका अनुसार पहिले जिनाइन (हरियो) केरा बिक्री नहुँदा नोक्सानी हुने अवस्था थियो भने अहिले जिनाइन केरा प्रतिकोसा रु ३ मा बिक्री भइरहेको छ । त्यसैगरी चिनीचम्पा केरा घरीको रु ६०० मा बिक्री भइरहेको छ । चाडपर्वमा समेत बिक्री नहुँदा किसानले दुःख पाएको अवस्था अहिले सुधारिएको उनले बताए ।

नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्तले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको र त्यसले नेपाली उत्पादनलाई बजार दिलाएको बताए । उनका अनुसार टिआर फोर रोग देखिएपछि मङ्सिर २ गतेदेखि क्वारेन्टिन कडाइ गरिएको हो । कडाइ नहुँदा गत दसैँ–तिहारमा मात्रै किसानले रु ६० करोड बराबरको नोक्सानी बेहोर्नुपरेको उनले जानकारी दिए । अहिलेको अवस्था कायम रहेमा एक वर्षभित्र नेपाल केरामा आत्मनिर्भर बन्ने दाबी गरिएको छ ।

स्वदेशी उत्पादनले बजार पाए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो आएको छ । मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचनापछि अनुगमनको आवश्यकता औँल्याइएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रमका एकाइ प्रमुख महेश रेग्मीका अनुसार जिल्लामा हाल दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ र वार्षिक ७० हजार मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ उत्पादित केरा चितवनसहित काठमाडौं, पोखरा र भैरहवालगायत सहरमा जाने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया