सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ३
|
204 views

ललितपुर - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले सबै जिल्ला दलित परिवारलाई घरबास(होमस्टे)मार्फत सामाजिक अन्तरघुलन गराइने बताउनुभएको छ ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको आज प्रतिनिधिसभामा जवाफ दिँदै उहाँले विगत वर्षमाभन्दा आगामी आर्थिक वर्षमा पर्यटन र संस्कृति क्षेत्रमा बजेट वृद्धि भएको बताउनुभयो ।

‘बजेटले विकास सँगसँगै असमानताको अन्त्य गर्नुपर्छ भन्न सोच र धारणा बोकेको हुन्छ, सामाजिक असमनताको अन्त्य गर्ने ध्येय राखेर हामीले मुुलुकभरका ७७ वटै जिल्लामा एउटा–एउटा दलित होमस्टे सञ्चालनमा ल्याउने कार्यक्रम समावेश गरेका छौँ ।’ मन्त्री पौडेलले दलित होमस्टेले अन्य समुदाय र दलितबीच सामाजिक अन्तरघुलन गराउनसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताउनुभयो ।

‘सरकारी निकायले दलित होमस्टेमा अनिवार्य रूपमा कार्यक्रम गर्नुपर्ने व्यवस्था पनि मिलाएका हौँ’, उहाँले भन्नुभयो ।

‘पर्यटन मन्त्रालयसँग बजेट तथा कार्यक्रम माग गर्नेको सङ्ख्या निकै उच्च र धेरै रहेको छ । यही मन्त्रालयबाट नै मुलुकको उन्नति र समुन्नति हुने आशा गरेकाले पनि धेरै अपेक्षा र चाहाना देखिएको हो’, उहाँले थप भन्नुभयो, ‘यो मन्त्रालय सधैँ उपेक्षामा परेको थियो । सबैका योजना र सबैलाई समेट्ने गरी बजेट ल्याउन निकै कठिन र दुःख हुने गर्छ । यथापि हामीले त्यो काम फत्ते गरेर अघि बढेका छौँ ।’ मन्त्री पौडेलले खुुसीको खोजीमा पर्यटकका रूपमा विभिन्न स्थानमा पुग्ने गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुखीको खोज गर्ने काम हो । खुसी बेचेर पर्यटनबाट आम्दानी गर्ने हो ।’ मन्त्री पौडेलले लुम्बिनी क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोषमा आन्तरिक रूपमा नै बजेट हुने भएकाले पनि मन्त्रालयले ती कोषमा बजेट विनियोजन नभएको स्पष्टीकरण दिनुभयो ।

मन्त्री पौडेलले समुदायगतमा बजेट विनियोजनमा कुनै पनि विभेद नगरिएको दाबी गर्नुभयो । बौद्ध दर्शन तथा गुम्बा विकास कार्यक्रमले आफ्नोसँग सम्बन्धित काम गर्न लागेको स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले बहुजातीय र बहुधार्मिक परम्परा र संस्कृति संरक्षणका लागि एकमुष्ट बजेट विनियोजन गरेको दाबी गर्नुभयो ।

मन्त्री पौडेलले सतल र पाटी पालिकास्तरबाटै निर्माण गर्नुपर्नेमा पुरातात्विक महत्त्वका सम्पदा भएकाले राखिएको बताउनुभयो । उहाँले गुम्बा निर्माणका लागि रु पाँच लाख रकम अध्ययन र अन्य कार्यक्रमका लागि छुट्याइएको स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले रणनीतिक पदयात्रालाई जोड्नका लागि चर्तुभुजीय मोडेलमा अघि बढाउनका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।

सरकारले पदमार्ग र सांस्कृतिक र ऐतिहासिक सम्पदा संरक्षणका लागि करिब ८२ करोडभन्दा धेरै बजेट विनियोजन गरिएको बताउनुभयो ।

‘यहाँहरूले पर्यटन मन्त्रालयसँग रु ६४ अर्बको बजेट माग गर्नुभएको थियो । हामीले समारिक महत्त्व बोकेका क्षेत्रमा मात्रै एकमुष्ट बजेट विनियोजन गरेका छौँ, दुईदेखि पाँच लाखबाट बजेट निर्माणका लागिभन्दा पनि अध्ययनको लागि बजेट विनियोजन भएको हो ।’

मन्त्री पौडेलले संस्कृति र पर्यटन मन्त्रालय मातहत रहेका ११ थरिका पुरस्कार वितरण प्रणालीलाई पनि व्यवस्थित गराउन खोजेको बताउनुभयो । ‘पुरस्कारलाई व्यवस्थित गराउन खोजेका छौँ, पुरस्कार वितरणको लागि व्यवस्थित खालको कार्यविधि बनाउने खालको पनि योजना छ ।’ मन्त्री पौडेलले आगामी आवको बजेटमा मुलुकका लागि ठूलो योगदान पुर्याएका व्यक्तिहरूको निवास पर्यटकीय र अन्य कारणले पनि विशेष महत्त्व राख्ने भएकाले संरक्षण र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेको स्पष्टिकरण दिनुभयो ।

मन्त्री पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कर्णाली र सुदूरपश्चिम भ्रमण गर्ने विद्यार्थीको लागि शैक्षिक भ्रमणमा अनुदान दिने व्यवस्था गर्न खाजेको बताउनुभयो । ‘यी दुई प्रदेशको पर्यटन क्षेत्रको विकास र सरंक्षण र प्रवर्द्धनका लागि गरिएको हो’, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयले विमानस्थलको लागि भन्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘डेडिकेटेड’ रूपमा बजेट विनियोजन गर्ने जानकारी गराउनुभयो ।

सरकारले रैथाने पशुपक्षीलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति लिएको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले नेपालको हवाई क्षेत्रमा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत सुधारको काम गर्ने दाबी गर्नुुभयो । ‘क्यान एउटा स्वायत संस्थाका रुपमा काम गर्दै आइरहेको छ । यसले नै नेपालका विभिन्न विमानस्थलको व्यवस्थापन र निर्माणको काम गर्दै आइरहेको छ, मन्त्रालयले केही विमानस्थल आयोजना विशेषका लागि मात्रै बजेट विनियोजन गरेको हो । सबै विमानस्थलको लागि भने त क्यानमार्फत नै हुने गर्दछ ।’ उहाँले कोशी प्रदेशको पुरातात्विक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि रु एक करोड ६७ लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube