२०८२ चैत्र २१ | Apr 04, 2026

खामेनी घाइते भएको हल्लाबीच सुरक्षित रहेको दाबी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
408 views

ललितपुर – इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उहाँ सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गरेका छन् । यो दाबी इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धको पृष्ठभूमिमा सार्वजनिक भएको हो ।

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै, घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको जानकारी दिनुभएको छ। उहाँका अनुसार सम्पर्कमा रहेका व्यक्तिहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका छन्।

‘मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेँ। मैले सम्पर्क भएका साथीहरूलाई सोधेँ । उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ भनेका छन्,’ पेजेस्कियानले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो, तर उहाँ कहिले र कसरी घाइते हुनु भएको भन्ने स्पष्ट विवरण दिएको थिएन ।

मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन् । आयातुल्ला अली खामेनीको फेब्रुअरी २८ मा अमेरिक–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको थियो। उक्त घटनापछि मध्यपूर्वमा व्यापक युद्ध सुरु भएको थियो ।

छपन्न वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा परिचित छन् । उहाँ विरलै सार्वजनिक कार्यक्रममा देखिनुहुन्छ र आधिकारिक कार्यक्रममा बोल्न कमै देखिन्छ ।

सर्वोच्च नेता घोषणा भएयता पनि उहाँले राष्ट्रलाई औपचारिक सम्बोधन गर्नुभएको छैन । हालसम्म उहाँको तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उहाँको अवस्थाबारे विभिन्न अनुमान फैलिन मद्दत गरेको छ ।

यसैबीच, अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित रिपोर्टमा तीन अनाम इरानी अधिकारीलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको छ । रिपोर्टअनुसार उहाँको खुट्टामा चोट लागेको थियो, तर उहाँ सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया