ललितपुर - ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले बागलुङमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीको स्थलगत अनुगमन गर्नु भएको छ। उहाँले निर्वाचनमा स्रोत अभाव नहुने र नागरिकले भयरहित र सहज वातावरणमा मतदान गर्न पाउने विश्वास दिलाउनु भयो ।
अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्दै सुरक्षा व्यवस्था, मतदान केन्द्र स्थिति, आचारसंहिता कार्यान्वयन लगायतका विषयमा जानकारी लिनुभयो । उहाँले निर्वाचन तयारीमा जुट्न सबै सरोकारवालालाई निर्देशन दिनु भयो र नागरिकलाई भयरहित मतदानको सुनिश्चितता दिने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुगमनपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमा उहाँले निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालन र आचारसंहिता कार्यान्वयनसम्बन्धी जानकारी लिनुभयो । सुरक्षा निकायलाई गलत र भ्रामक सूचना रोक्न सतर्क रहन पनि निर्देशन दिइएको छ ।
मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जिल्लामा भइरहेको शान्ति सुरक्षा व्यवस्थाका साथै आचारसंहिता कार्यान्वयन र अबसम्म भएको निर्वाचन तयारीबारे अर्थमन्त्रीलाई जानकारी गराउनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र प्रहरी उपरीक्षक तिलक भारतीले पनि निर्वाचन तयारी र आचारसंहिता उल्लङ्घन नभएको जानकारी दिनुभयो ।
बागलुङमा दश स्थानीय तह र ८५ वडा रहेको छ। जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा कुल १,९३,३८१ मतदाता छन् भने दुई प्रतिनिधिसभा सदस्यका लागि २३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अर्थमन्त्री खनालले भन्नुभयो, “निर्वाचन सफल बनाउनु सबैको दायित्व हो । सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयनसम्म सबैमा कुनै कमी नराखिनेछ । केही समस्या भए तत्काल समाधान गरिनेछ । नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्छ।

बिजनेस पाटी