ललितपुर - ललितपुर – उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उहाँले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप तनाव निम्त्याउने बताउनुभयो ।
दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि वसन्तकालीन सैन्य अभ्यास ‘फ्रिडम सिल्ड’ सुरु गरेका छन् । यो अभ्यास मार्च १९ सम्म सञ्चालन हुने बताइएको छ । दक्षिण कोरियाका करिब १८ हजार सैनिक यसमा सहभागी हुने जानकारी दिइएको छ, तर कति अमेरिकी सैनिक सहभागी छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
आणविक हतियार सम्पन्न उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासहरूलाई आफ्नो देशमाथि आक्रमण गर्ने तयारीको अभ्यास भन्दै लामो समयदेखि आरोप लगाउँदै आएको छ ।
किम यो जोङको भनाइ प्योङयाङस्थित सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उद्धृत गरेको हो । उहाँले यस्तो अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम निम्त्याउन सक्ने’ चेतावनी दिँदै क्षेत्रीय सुरक्षामा अस्थिरता बढ्न सक्ने सङ्केत गर्नुभयो ।
उहाँ हालै उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको सामान्य मामिला विभागको प्रमुख पदमा पदोन्नति हुनुभएको छ । विश्लेषकहरूले यो पद पार्टी महासचिवसरह प्रभावशाली जिम्मेवारी भएको मान्ने गरेका छन् ।
उहाँको प्रतिक्रिया त्यतिबेला आएको हो जतिबेला उहाँका दाजु किम जोङ उनले सियोलले अघि सारेका शान्ति पहलहरूलाई ‘असङ्गत भ्रामक प्रहसन’ भन्दै अस्वीकार गर्नुभएको थियो ।
किम यो जोङले संयुक्त सैन्य अभ्यासलाई विश्वव्यापी अस्थिरताको संवेदनशील समयमा भइरहेको कदम का रूपमा चित्रण गर्नुभएको छ । उहाँका अनुसार विश्व सुरक्षा संरचना कमजोर बन्दै गएको र विभिन्न क्षेत्रमा युद्धका घटनाहरू बढिरहेका छन् ।
उहाँले अहिलेको अवस्था ‘अन्तर्राष्ट्रिय बदमाशहरूको लापरवाह कार्य’ का कारण सिर्जना भएको आरोप लगाउनुभयो ।
प्योङयाङले हालै इरानमाथि अमेरिका र इजरायलले गरिरहेको आक्रमणलाई ‘अवैध आक्रमण’ भन्दै निन्दा गरेको छ । उत्तर कोरियाले त्यस घटनाले अमेरिकाको ‘दुष्ट प्रकृति’ उजागर गरेको दाबी गरेको छ ।
उत्तर कोरिया र संयुक्त राज्य अमेरिका दशकौँदेखि राजनीतिक र सैन्य रूपमा विरोधी रहेका छन् । पछिल्ला महिनाहरूमा भने वासिङ्टनले प्योङयाङसँग उच्चस्तरीय वार्ता पुनः सुरु गर्न पहल गरिरहेको सङ्केत देखिएको छ ।
कतिपय विश्लेषकहरूले यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सम्भावित शिखर सम्मेलन हुन सक्ने सम्भावना औँल्याएका छन् ।
किम जोङ उनले वासिङ्टनले उत्तर कोरियाको आणविक हैसियत स्वीकार गरेमा दुई देश ‘सँगै बस्न सक्ने’ बताउनुभएको छ ।

बिजनेस पाटी