अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
51 views

ललितपुर - अनलाइन किनमेलको माग बढेसँगै दक्षिण कोरियाको खुद्रा व्यापारमा अक्टोबरमा ५.७ प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा प्रमुख खुद्रा व्यवसायहरूको कुल आम्दानी बढेको हो ।

दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयका अनुसार १५ वटा अफलाइन र ११ वटा अनलाइनसहित २६ प्रमुख खुद्रा व्यवसायको संयुक्त आम्दानी अक्टोबरमा वार्षिक रूपमा ५.७ प्रतिशतले बढेको छ ।

    यस अवधिमा अनलाइन खुद्रा बिक्री १०.९ प्रतिशतले वृद्धि भएको छ भने अफलाइन बिक्री १.४ प्रतिशतले घटेको छ । प्रमुख ई-कमर्स प्लेटफर्महरूले सञ्चालन गरेका छुट तथा प्रवर्द्धनात्मक अभियानका कारण अनलाइन किनमेलमा उल्लेख्य वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

      अफलाइन खुद्रा व्यापारअन्तर्गत डिस्काउन्ट स्टोरहरूको बिक्रीमा भने १४.१ प्रतिशतको गिरावट आएको छ। गत वर्ष अक्टोबरमा परेको छुसोक शरद् ऋतुको बाली भित्र्याउने पर्व यस वर्ष सेप्टेम्बरमै परेकाले बिक्रीमा प्रभाव परेको बताइएको छ ।

      त्यस्तै, डिपार्टमेन्ट स्टोरहरूको बिक्रीमा १ प्रतिशतको वृद्धि भएको छ । विशेषगरी महिलाका औपचारिक पोसाक र पुरुषका कपडाको माग बढ्दा यस क्षेत्रको आम्दानीमा सुधार आएको हो ।

      कन्भिनियन्स स्टोरहरूको बिक्री ३.६ प्रतिशतले बढेको छ भने सुपर सुपरमार्केटहरूको बिक्रीमा ०.९ प्रतिशतको वृद्धि भएको छ। सार्वजनिक बिदाको संख्या कम हुनु र वर्षायामको प्रभाव घट्नुले उपभोक्ताको आवागमन बढाएको सरकारी तथ्यांकमा उल्लेख छ।

      अनलाइन व्यापारको विस्तारले दक्षिण कोरियाको समग्र खुद्रा बजारलाई सकारात्मक योगदान दिएको देखिए पनि अफलाइन व्यापारमा आएको गिरावटले उपभोक्ता किनमेलको प्रवृत्ति क्रमशः डिजिटल माध्यमतर्फ सर्दै गएको संकेत गरेको छ।

       पात्रो/राशिफल  रेडियो YouTube