ललितपुर - ललितपुर – कुलमान घिसिंङ्ग नेतृत्वको उज्यालो नेपाल पार्टीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेन । चुनावी परिणामपछि अध्यक्ष घिसिङले जनताको मत जित्न नसकेको स्वीकार गरेका छन् ।
उनले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भए पनि अपेक्षित मत प्राप्त गर्न नसकिएको बताएका छन् । यद्यपि उनले यसलाई ‘प्राविधिक हार’ मात्र भएको टिप्पणी गरेका छन् ।
घिसिङले छोटो समयमा जनताबाट प्राप्त माया, विश्वास र सद्भाव पार्टीका लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको बताए । उनले चुनावमार्फत परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टी लाई ठूलो जनमत प्राप्त भएको उल्लेख गर्दै देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न उक्त पार्टी सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
उनका अनुसार सरकारले गर्ने सकारात्मक कामको समर्थन गरिनेछ भने गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्नेछ ।
चुनावी परिणामबाट निराश नहुने उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिजनेस पाटी