चन्द्रगढी विमानस्थलबाट खैरो हिरोइनसहित युवती पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
714 views

ललितपुर - ललितपुर – भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट काठमाडौँ जाँदै गरेको अवस्थामा २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् । उनी हुम्लाको खार्पुनाथ गाउँपालिका–२ की बासिन्दा हुन् र यति एयरलायन्सको उडान नं ९२६ मार्फत यात्रा गर्दै थिइन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, विमानस्थल सुरक्षा गार्डले सोमबार अपराह्न ५ः३५ बजे जाँच गर्दा रोशनीको सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखिएको फेला परेको थियो ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार, रोशनीको बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न थप दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको छ ।

काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube