चलचित्र ‘लालीबजार’को प्रदर्शन रोकियो, अदालतको अन्तरिम आदेश

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
204 views

ललितपुर - शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को रिलिज उच्च अदालत पाटनले अस्थायी रूपमा रोकेको छ । अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आगामी २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो ।

डा. रोशनी नेपाली सहित वादी समुदायका अभियन्ताहरूले चलचित्रविरुद्ध रिट दायर गरेका थिए । उनीहरूले चलचित्रले वादी समुदायलाई नैतिक, सामाजिक तथा व्यवहारिक रूपमा गलत तरिकाले चित्रण गरेको आरोप लगाएका छन् ।

    रिट निवेदक रोशनी नेपालीले भनिन्, “यो चलचित्रले वादी समुदायलाई गलत रूपमा प्रस्तुत गरेको छ, त्यसैले प्रदर्शन रोक्न अदालत जानु परेको हो ।

      अदालतले दुवै पक्षलाई २२ गते छलफलका लागि बोलाएको छ । सो दिनसम्म चलचित्र प्रदर्शनमा रोक लगाइएको छ । यसैबीच, चलचित्रको तय गरिएको प्रिमियर शो समेत निर्माण पक्षले रद्द गरेको छ ।

      निर्देशक याम थापाको निर्देशनमा बनेको यो चलचित्र वादी महिलाको कथामा आधारित रहेको छ । ट्रेलर सार्वजनिक भएदेखि नै केही वादी अभियन्ताहरूले विरोध जनाउँदै आएका थिए ।

      अभियन्ताहरूका अनुसार चलचित्रले वादी समुदायलाई केवल यौन व्यवसायसँग जोडेर प्रस्तुत गरेको छ, जसले समुदायको पहिचान र आत्मसम्मानमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube