
ललितपुर - वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्देश्यले लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘The Goal is Green’ कार्यान्वयनका लागि WWF नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ। यस अभियानमा काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) पनि सहकार्यमा सहभागी भएको छ।
बैंकले FIFA World Cup 2026 का प्रत्येक गोल बराबर एक रैथाने बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो। विश्वकप सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता पूरा गर्ने जनाएको छ।
बैंकका अनुसार विश्वकै लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले ‘The Goal is Green’ अभियान सञ्चालन गरिएको हो। अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने प्रयास गरेको बैंकको भनाइ छ।
सहकार्यअन्तर्गत WWF नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुनःस्थापनासम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस्तै, काम्दी सामुदायिक वन समन्वय समितिले स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने, संरक्षण गर्ने तथा दीर्घकालीन व्यवस्थापन गर्नेछ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकता मात्र नभई दीर्घकालीन मूल्य सिर्जनाको आधार रहेको बताए। उनका अनुसार विश्वकपका प्रत्येक गोललाई हरित अभियानसँग जोड्दै नेपालको वातावरणीय संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने लक्ष्य राखिएको हो।
WWF नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुनःस्थापना भनेको केवल रूख रोप्नु मात्र नभई सही स्थानमा रैथाने प्रजातिका बिरुवा रोपेर स्थानीय समुदायसँग मिलेर दीर्घकालीन संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए।
काम्दी सामुदायिक वन समन्वय समिति (Kamdi CFCC) का अध्यक्ष महेन्द्र शाहीले यस सहकार्यले जैविक मार्ग (Corridor) पुनःस्थापनासम्बन्धी प्रयासलाई थप बल पुग्ने र स्थानीय समुदायले दीर्घकालीन लाभ पाउने विश्वास व्यक्त गरे।
बैंकका अनुसार ‘The Goal is Green’ अभियानले दिगोपनलाई वित्तीय सेवाभन्दा बाहिर सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग जोड्दै समुदाय, ग्राहक र निजी क्षेत्रलाई सामूहिक जलवायु अभियानमा सहभागी गराउने तथा नेपालको हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

बिजनेस पाटी